सिरहा । आमा मान्छे पानी पिउँदा ठाडो घाँटी लाएर कल्कली पिउँछन् । तर मिर्चैया–७ मुराबारीका २७ घर दलित पशुले झैँ पानीको भाँडोमा घोप्टिएर पानी पिउँछन् । १२ वर्षीया बबिता सदा भन्छिन्, ‘खोलाको हिलो लेदो मिसिएको पानी भाँडोमा निकैबेर राखेर थिग्रिएपछि पिउनु पर्छ, बटुको उचालेर पिउँदा हल्लिएर हिलो लेदो पानीमा मिसिन्छ ।’ उनीहरुले पिइरहेको पानी पनि ह्वास्सै ‘भैँसी’ गन्हाउँछ ।

मुराबारीस्थित बतहा खोलाको वगरमा खर र भाटाको झुपडी बनाएर बसेका २७ घर दलित परिवार खोलाको छेउमा खाडलमा जमेको पानी पिउँछन् । अनि त्यही खाडलमा पनि धनीमानीले भैँसी आहाल बसाउँछन् । ७३ वर्षीय बालदेव सदा भन्छन्, ‘हाम्रो खानेपानीको खाडलमा भैँसी नधोइदेऊ भन्दा ‘तेरो बाउको हो र’ भन्दै हप्काउँछन् ।’

खाडलवाट पानी उभाउँदै गरेकी दसनी सदाले आक्रोस देखाइन्, ‘पैन्छुवा यही पाईनमे कदैछै हजुर, कुछो नै बाजसकै छियै । अर्थात् दिसा गरेर यही खाडलमा धोइदिन्छन्, हामी केही बोल्न सक्दैनौँ ।’

गाउँमा वयस्क कोही थिएनन् । सबै मालिकका घरमा काम गर्न गएका थिए । मध्यान्हपछि तीन वृद्ध देखा परे । उनीहरु दिउँसो गाउँको पूर्वपट्टि नजिकैबाट बिजुलीको पोल र तार गएको देखेर पत्रकार मिथिलेश यादवले सोधे, ‘बिजुली किन आएन गाउँमा ?’ प्रश्न भूइँमा झर्न नपाउँदै ६७ वर्षीय बिर्खेे सार्कीले भने, ‘लाइन चाहिएन हजुर पानी भए पुग्छ । सरकारले खानेपानी मात्र दिए पुग्छ ।’

६२ वर्षीया नसी सदाले भनिन्, ‘इनार वा ट्युबेल जस्ता खानेपानीको अन्य कुनै साधन छैन । सफा खानेपानी खानुप¥यो भनेर एक कोश टाढा माथि गैरदलितको इनारमा पानी लिन गयौँ तर पानी भर्न दिएनन् ।’

बस्तीमै सातवर्षीया राधिका सदा ३ वर्षीया बहिनी चन्द्रिका सदालाई शिशुलाई दुध खुवाउने बोतल मुखमा हालेर फुल्याउँदै थिईन् । बोतलमा धमिलो पानी थियो । भनिन्, ‘राइतो सिधा नैछेलै त भुखले सुतलियै, अखनु तक कुछो खेने नै छियै । माई काम करैला मिर्चैया गेलछै । साँझमे चाउर लावतै त भात खेवै ।’ अर्थात् राति पनि सामल नभएर भोकै सुत्यौँ, अहिलेसम्म खाएका छैनौँ । आमा काम गर्न मिर्चैया जानुभएको छ, चामल ल्याउनु हुन्छ राति भात खाने ।

गाउँका २७ घरमा सरसर्ती गन्दा ५ देखि १४ वर्षसम्मका ६२ बालबालिका छन् । तीमध्ये कोही पनि विद्यालय जाँदैनन् । मुसहर बस्तीबाट विद्यालय एक कोश टाढा छ । छठिया सदाले भनिन्, ‘हिउँदमा त खोलामा पानी हुँदैन तर वर्षायाममा विद्यालय जान बतहा खोलाको १० जंघार तर्नु पर्छ । बालबालिका हिँडेर नदी पार गर्न सक्तैनन् । वर्षायाममा बतहा नदी उर्लेर आउँछ । बगरमा झुपडी छ । बालबच्चा चेपेर घर छाडेर डाँडामा उक्लिनु पर्छ । कुन दिन बगाएर लैजाने हो, ठेगान छैन । यसरी बाँचेका छौँ हजुर हामी त !’

जीवन जिउन सुविस्ता होला भनेर उदयपुरको लिम्पटारबाट ७ वर्षअघि मुराबारी झरेका वृद्ध विर्खे सार्कीले भने, ‘चुनावका बेला कमलिस (उनलाई कम्युनिष्ट भन्न आएन) नेता प्रचण्डलाई भोट हाल्यौँ । खानेपानी दिन्छौँ भनेका थिए तर फर्केर आएनन् ।’ प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्ने मुसहर गाउँ पानीका लागि काकाकुल छ । निर्वाचनताका मात्र होइन सरकारको एक सयदिन पूरा हुँदा पनि प्रधानमन्त्रीले खानेपानीको लागि ५० करोड दिएको घोषणा गरे । तर विकासको घुट्को भाषणमा मात्र सीमित रह्यो । उस्तै छ मुसहर बस्ती ।
– अर्जुन थपलिया