स्व‍. अर्जुन खालिङकृत कविताकृति गोयाङको सुगन्धलाई ‘पहिचान पुरस्कार २०७४’ प्रदान गरिने पहिचान पुरस्कार काेषले जनाएकाे छ ।

२०३३ साल भदौ २५ गते सोलुखुम्बुको जुभिङ गा.वि.स.मा स्व खालिङको जन्म भएको थियो । २०५८ साल स्नातक तह फाईन–आर्टमा उनी गोल्डमेडल विजेता हुन् । खालिङका दुईवटा कविता संग्रह ‘सूर्य डडिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ प्रकाशित छ । उनले चिण्डो बुक्स्, चिण्डो फेशनका प्रमुख र किरात राई लेखक संघमा अध्यक्षको कार्यभार सम्हाली रहेका थिए । कला, साहित्य र सामाजिक सेवामा निरन्तर काम गरिरहेका खालिङले पछिल्लाे समय किरात राईको मुन्दुमी कथाका एक पात्र हेत्छाकुप्पा/ रैछाकुले/खाक्चिलीपाको चित्र पनि तयार गरेका थिए। उक्त चित्रलाई खोटाङ जिल्ला अवस्थित तायाचुङ जायाजुङ डाँडामा किरात राई यायोक्खाले प्रतिमा निर्माण गरी राख्नेछ ।

खालिङकाे कविता संग्रह ‘गोयाङको सुगन्ध’ ले पहिचानकाे मुद्दा उठान गरेकाे र उनी स्वयमले पहिचान प्राप्तिको लागि हरेक क्षेत्रबाट निरन्तर संघर्ष गरिरेहेकाले पहिचान पुरस्कार प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचान सम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो । पहिचान पुरस्कार काेषकाे अनुसार नेपाली साहित्यको श्रीबृद्धिको लागि पहिचान सम्बन्धि अध्ययन अनुसन्धन हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै नयाँ बहुल समाज निर्माणको लागि पहिचान पुरस्कारको स्थपना गरिएको हाे ।

पुरस्कारको राशी रू. २,०२,००२/–(अक्षरेपी दुई लाख दुई हजार दुई रुपैयाँ ) रहेकाे छ । हरेक पाँच वर्षमा पुरस्कार राशी बढाउँदै लगिने छ । पुस्तकलाई यो पुरस्कार दिइने भएता पनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने छ ।