उज्यालो.com.au

Light to information – सुचनाको अधिकार

Tag: nepal

Nepal featured in BBC Travel: Nepal’s alternative adrenaline activities

With eight of the world’s 14 highest mountains, epic valleys and rivers with personalities that run from gentle to ferocious, Nepal is one of the most famous outdoor destinations on the planet. But visitors are just starting to discover that the adventure-sports scene consists of more than just trekking. Rafting world-class rapids, soaring among the Himalaya on a paraglider and taking a plunge on one of the world’s highest bungee jumps are just a few of the ways to get your blood pumping.

READ MORE

अवसान होइन, स्थगनमा गुरुकुल

अनिता शिवाकोटी- ‘रिमाल नाटकघरमा तपार्इँहरूलाई स्वागत छ। गुरुकुल बन्द हुने ‘खुसियाली’मा सुरु भएको नाटक मेलामा पाल्नुभएकोमा तपार्इँहरूलाई फेरि पनि स्वागत गर्छु।’ गुरुकुलका निर्देशक सुनील पोखरेल नाटकको पात्रले सलिलक्वी (आत्मसंवाद) प्रस्तुत गरेझैँ बोलिरहेका थिए। तर, यो सलिलक्वी थिएन, किनभने उनी दर्शकलाई प्रत्यक्ष सम्बोधन गरिरहेका थिए। यो सम्बोधनमा अलिकति शिष्टाचार थियो, अलिकति पीडा। र, व्यंग्य थियो भयंकर। दर्शक स्तब्ध थिए।

मानौँ, सुनील जुलियस सिजरको हत्यापछि भावावेगमा बोलिरहेका मार्कस एन्टोनियस थिए- ‘फ्रेन्ड्ज, रोमन्स, कन्ट्रिमेन, लेन्ड मी योर इयर्स…’
पुष २२ गतेदेखि गुरुकुलमा सुरु भएको छ नाटक मेला। पुस २९ मा सकिन्छ यो मेला। तर, यो मेलामा तामझाम छँदै छैन, पुलकित हुने मनहरू पनि छैनन्। यो मेला सायद स्थगनको मेला हो। स्थगन एउटा अभियानको। अस्थायी प्रकृतिकै किन नहोस्, स्थगन भनेको स्थगन हो।
गुरुकुल बन्द हुनुको पीडाले सबैभन्दा आक्रान्त सुनील नै हुनुपर्छ। जिन्दगीभरको लगानी, उर्जा खन्याएका थिए उनले यसमा। यो पीडालाई उनले ‘खुसियाली’ शब्दको कठोर व्यंग्यमा रूपान्तरण गर्न खोजेका थिए। यसै पनि नाटकमार्फत नेपाली कलाको रूपान्तरण (ट्रान्सफर्मेसन) मा थोरै योगदान गरेकै हुन् उनले।
दश वर्षअघि गुरुकुलको स्थापना भएको थियो। देश जर्जर अवस्थामा थियो। अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार कत्लेआममा परेका थिए। यसले ‘अग्निको कथा’ नाटकमार्फत ज्ञान (चेतना) को वकालत गर्‍यो। ज्ञानेन्द्र शाह मण्डली त्यतिखेर चेतनाको घोर विरोधी थियो। त्यस्तै राजनीतिक अवस्थालाई प्रतिकात्मक तरिकाले चित्रण गदै ‘मायादेवीका सपना’ पनि देखायो गुरुकुलले। धेरै भाषा, धेरै परिवेशका नाटकले त्यसपछि गुरुकुलमा ठाउँ पाए, मञ्च पाए। जनता बोल्न नपाएर उकुसमुकुस भएका बेला गुरुकुलले अभिव्यक्तिहरूलाई अभूतपूर्व आउटलेट दियो। एक ऐतिहासिक सन्दर्भमा जन्मिएको संस्थाले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्‍यो। निडर र निर्बाध।
गुरुकुलका शक्ति थिए, यसका दर्शक, उनीहरूका सद्भाव, लगाव र प्रेम। अमिलो मन लिएर बाँचिरहेकामध्ये गुरुकुलले सक्ने जतिलाई नयाँ आशा र संभावनाको दर्शन गराइदियो।
तर, अहिले गुरुकुल ‘अवसान प्रक्रिया’ मा छ। प्रक्रिया एउटा चक्र हो। त्यो पूरै घुमिसकेको छैन। चक्र पूरै नघुमुन्जेल सम्भावनाको अन्त्य हुँदैन। उसो त सम्भावनाको कहिल्यै अन्त्य हुँदैन।
भाडाको जग्गामा बसेको गुरुकुललाई जग्गा धनीले जग्गा खाली गरिदिने उर्दी गरेका छन्। सम्झौता नविकरण नभएपछि अहिले खाँबो गाडेर बसेको ठाउँ छोड्नुपर्ने भएको छ उसले। बसिरहेको ठाँउमा बस्ने हो भने ८ रोपनी समथिङ आना जग्गाको ३५ करोड रुपैयाँ मागेकी छन्, जग्गा धनी राजेश्वरी कँडेलले। नाटकजस्तो ‘अनुत्पादक’ खेती गरिरहेको गुरुकुलको यत्रो हैसियत कहाँ?!
नाटक हेर्न गुरुकुलमा चर्चित नेता सबै पुगे। राष्ट्रपतिदेखि अहिलेका प्रधानमन्त्रीसम्म सबै पुगे। अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई इतिहासमै कहलिएका विद्वान हुन्। विद्वता र नाटकका बीच कुनै सम्बन्ध अवश्य हुनुपर्छ। डा. भट्टराईले पनि गुरुकुललाई ‘केही’ गरिदिन सकेका छैनन्।
नाटककार प्राध्यापक अभि सुवेदीले भनेझैँ अहिले सुनील यो थलोका यतिका सामान कहाँ लगेर राख्ने भन्ने चिन्तामा डुबेका छन्। ‘सुनील केही दिनपछि महादेव हुनेछन्,’ अभि भन्छन्, ‘गुरुकुल अर्थात् सतीदेवी बोकेर भरंगिएका सुनील हिँड्नेछन्, संस्कृति र प्रर्दशनको महानगरमा।’ थाहा छैन, त्यतिबेला के खानेछन् सुनील? महादेव त गाँजा, भाङ र धतुरो खान्थे। सुनील सायद हन्डर खानेछन्। थाहा छैन, सतीदेवीरूपी गुरुकुलका कुन कुन अंग कहाँ कहाँ खस्नेछन्। तर, एउटा कुरा भने निश्चित्, जहाँ जहाँ खस्नेछन्, त्यहाँ त्यहाँ शक्तिपिठ स्थापना हुनेछैनन्। कहाँ सुनील, कहाँ महादेव? आहत र मर्माहत हुने मामिलामा बराबर भएर के हुन्छ?
पुरानो बानेश्वरको गुरुकुल भत्किनु ठूलो कुरा होइन। यहाँ भत्के अन्त कतै बन्ला। तर, योसँगै गुरुकुलसँग जोडिएकाहरूका उत्साह, उर्जा र आवेग भत्किए भने …। यही चिन्ताले सताएको छ, नाटकप्रेमी र गुरुकुलका हितैषीहरूलाई।
गुरुकुल स्थापनायता यसले गरेका सबै नाटक हेर्दै आएका छन् धु्रव पोखरेलले। गुरुकुलले उनलाई नाटकको लत बसाइदियो। ‘मैले मेरा दुई सयभन्दा बढी साथीलाई गुरुकुल पुर्‍याएको छु,’ उनी सगर्व उद्घोष गर्छन्। अर्का दर्शक सञ्जय अधिकारी पनि गुरुकुलका नियमित भिजिटर हुन्। ‘नाटक ‘ताराबाजी लै लै’ मैले आठपटक हेरेँ,’ उनी भन्छन्।
यी दुवै गुरुकुलका नियमित भिजिटर हुन्। शुक्रवार भत्किएको सम नाटक घर हेरेर अवाक् भएका थिए उनीहरू। ‘राष्ट्रले नाटकका क्षेत्रमा जे गर्नुपर्थ्यो, एउटा संस्थाले गर्‍यो,’ सञ्जय भन्छन्, ‘यसलाई बचाउन किन कोही अघि नसरेको होला?’ उनले कसलाई प्रश्न गरेका हुन्, उनी आफैँ स्योर थिएनन्।
अर्का नियमित दर्शक सरोज रेग्मीलाई गुरुकुल भत्काइएकोमा भन्दा पनि समयमा नै गुरुकुललाई अन्यत्र नसारेकोमा ‘रिस’ उठेको छ। गुरुकुललाई उनको आक्रोश मिश्रित सवाल थियो, ‘यतिका कार्यक्रमको व्यवस्थापन गर्नेले आफ्नो बासको व्यवस्था गर्नु पर्दैन थियो?’
मुर्च्छित रहेको नाटकलाई गुरुकुलले ब्युँतायो। कलाकारहरू आफ्ना नाटक लिएर संसार डुले। अरूका संस्कृति बुझे, आफ्नो संस्कृति नाटकमार्फत बुझाए। गुरुकुलले गर्दै आएको वार्षिक अन्तराष्ट्रिय नाटक महोत्सवले पनि नेपाललाई विश्वका धेरै कुनाकन्दरामा चिनायो।
गुरुकुलले नाटक देखाउने मात्र होइन, अभिनय गर्न चाहनेहरूलाई बेला बेलामा विभिन्न तालिम पनि दिने गरेको छ। झन्डै चार हजार कलाकार यसले उत्पादन गरिसकेको छ।
‘गुरुकुल नाट्य क्षेत्रका लागि मात्र नभएर सम्पूर्ण साहित्यिक क्षेत्रकै चौतारो थियो,’ कथाकार अभय श्रेष्ठ भन्छन्, ‘त्यहाँ जो पनि अटाउँथ्यो।’ चित्रकलाप्रति पनि गुरुकुलले उत्तिकै आदर देखाएको थियो। नाटककारहरूले देखाएको नाटकमा आधारित चित्र कोर्ने प्लेटफर्म पनि प्रदान गरेको थियो यसले। शास्त्रीय संगीत, कविता आदिप्रति पनि गुरुकुलले आफ्नो गच्छेअनुसार, उदारतापूर्वक हस्पिट्यालिटी देखाएकै हो।
गुरुकुलले ०६२/०६३ को जनआन्दोलनमा उर्जा भर्ने काम गरेको थियो। गुरुकुलबाट निस्कन लागेको शान्तिपूर्ण जुलुसलाई प्रहरीले बर्बरतापूर्वक आक्रमण गरेको थियो। सत्यमोहन जोशी, सञ्जीव उप्रेती, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत थुप्रै स्वतन्त्रताका पक्षधर पक्राउ परेका थिए, त्यस बेला।
कलाकारका लागि गुरुकुल साँच्चै नै ‘गुरुकुल’ हो। गुरुकुल बनाउन उनीहरूले माटो, बालुवा, इँटा बोके। भित्तामा बोरामा पेन्टिङ गरेर टाँसे। एउटा कुनामा माटो हालेर त्यो भागलाई उठाए र स्टेज बनाए। गुरुकुलकी कलाकार अरुणा कार्की सम नाटकघर बनाउँदाको त्यो रमाइलो अहिले पनि सम्भि्करहेकी छिन्। ‘लेउ नै लेउ लागेको यो घरको लेउ खुर्केर पहेलो रङ लगाउँदा आनन्द आएको थियो,’ उनी भन्छिन्।
अहिले आफैँले सिर्जना गरेको देबल भत्काउँदैछ गुरुकुल। सम नाटकघर भत्काइसक्यो। रिमाल नाटकघर भत्काउन बाँकी छ।
अहिले अत्यन्त कठिन परिस्थितिमा छ गुरुकुल। तर, एउट कुरा प्रस्ट छ- गुरुकुल भनेको पुरानो बानेश्वरको भौतिक संरचनामात्रै होइन। यो एउटा अभियान हो। अभियान भौतिक पूर्वाधारका कमीमा रोकिँदैन। केही समय स्थगित भने हुनसक्छ। स्थगन अवसान होइन। कुनै पनि अर्थमा होइन।

एक वर्षपछि फेरि आउँछ गुरुकुल
सुनिल पोखरेल

अब के गर्नुहुन्छ?
मिल्यो भने पैसा खोजेर नाटक यात्रामा निस्कन्छौँ। त्यो पनि भएन भने जग्गा मिलाउनकै लागि दौडधुप गर्नेछौँ।
जग्गाका लागि के गर्दै हुनुहुन्छ?
तीनवर्षदेखि सरकारसँग जग्गाको लागि आग्रह गरिरहेका छौँ। तीन वर्षमा तीनटा सरकार फेरिए। कम्तीमा पनि पाँच रोपनी जग्गा चाहिएको छ। हामीले किन्न संभवै छैन। केही सिप नलागे, साथीहरूसँग मिलेर जग्गाका लागि केही त गरिन्छ नै।
आफैँले बनाएको घर आफैँ भत्काउनु पर्दा दुःख त लागेको होला नि?
संसारमा सबै पनि कुरा अनित्य छन्। संकट भनेको संभावनाको ढोका हो। त्यसैले सकारात्मक छु। यो भन्दा पनि राम्रो ठाँउ पाइएला भन्ने लागेको छ मलाई।
यति धेरै सामान तत्कालै कहाँ थन्काउने?
गोदामको खोजीमा छौँ। कम्तीमा पनि सात करोडको सम्पत्ति छ। रिमाल हल भत्काउन मिल्ने गरी बनाएका छौँ। यी सबै सामान हामीलाई पछि काम लाग्छन्। यहाँ फलाममात्र ६० ट्रक जति होलान्।
फेरि दर्शकसामु आउन कति समय लाग्ला?
कम्तीमा एक वर्ष।
दर्शकबाट कस्तो आशा गर्नु भएको छ?
हामीलाई यो बेला दर्शकको साथ चाहिएको छ।
सरकारसँग कति जग्गा माग्नुभएको हो?
हाम्रो दीर्घकालीन सोच हो। कम्तीमा पनि पाँच रोपनी जग्गा चाहिएको छ हामीलाई। त्यहाँ तीनवटा नाटक घर, एउटा पाहुना घर, एउटा पेन्टिङ हल, र एउटा नाटक क्याम्पस खोल्ने विचारमा छौँ।

Old Nepal (उहिलेको नेपाल): A documentary by Toni Hagen

© 2017 Ujyalo.com.au